पर्वत– पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो।
गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए। सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पुर्याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ। १४ लाख रुपैयाँमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ।
गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएको छ। नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो। यसबाट मोदीका आठवटै वडाका नागरिक लाभान्वित हुने छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा हुने दुर्घटनाका घाइतेलाई पनि तत्काल उद्धार गर्न मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताए। यसअघि जलजला गाउँपालिकाले पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।