काठमाडौं– नेपालवाच डटकमले बिहीबारबाट साप्ताहिक कार्यक्रम एजुकेसन डायलग प्रशारण गर्ने भएको छ।
यसअघि नेपालवाचले हरेक आइतबार पोलिसी डायलग र हरेक मंगलबार प्रशासनका कुरा सञ्चालन गर्दै आएको छ। नेपालवाचले शिक्षा क्षेत्रको सुधारका लागि बहस थालनी गर्न एजुकेसन डायलग सुरु गर्नेे भएको हो।
किङ्स कलेजको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रम हरेक बिहीबार विहान ७ बजे नेपालवाच डट कम र यसको युट्युब च्यानलमा प्रशारण हुनेछ।
यो कार्यक्रमलाई किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अयार्लले सञ्चालन गर्नेछन्। नागरिक तहबाट राज्यसँग जनाइने हरेक असन्तुष्टि हल गर्न अन्य विषयसँगै शिक्षा नीति र सिकाइ प्रणालीमा रहेको त्रृटि नसच्याइ सम्भव छैन भन्ने निष्कर्षसहित यो बहसको थालनी गर्न लागिएको हो।
कार्यक्रममा विषय विज्ञले विद्यार्थी, अभिभावक, शिक्षकलगायत शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने पक्षहरूसँग संवाद गरिनेछ।
‘पत्रकारिताले समस्या खोज्नेमात्रै होइन, त्यसको समाधानलाई पनि जोडसँग उठाउनसक्नुपर्छ। हामी समस्यामात्रै बढी केन्द्रित भयौं। यसअघि हाम्रा नीतिमा समस्या छन् र त्यसको हल खोज्नुपर्छ भनेर हामीले पोलिसी डायलग सुरु गरेका थियौँ,’ नेपालवाच मल्टिमिडियाका अध्यक्ष र नेपालवाच डट कमका सम्पादक पुष्प ढुंगानाले भने, ‘काम गर्दै जाँदा समस्याको मूल समाधान त शिक्षाबाट खोज्नुपर्छ जस्तो लाग्यो। यहाँ भएका समस्या र सुधारका लागि बहसको खाँचो देखेर यो कार्यक्रम सुरु गर्ने जमर्को गरेका हौं।’
कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षामा सरोकार राख्ने सबैको भविष्यलाई ऐना जस्तै देखाउने विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।