काठमाडौं– चालु वर्ष (सन् २०२३)मा विश्व अर्थतन्त्र मन्दीको निकै नजिक रहने विश्व बैंकले प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ रिपोर्टका अनुसार यस वर्ष अमेरिका, युरोप, चीनलगायत विश्वका सबै शीर्ष अर्थतन्त्रहरुको आर्थिक वृद्धिदर निकै कमजोर रहने हुँदा मन्दीको खतरा बढेको हो।
विश्व बैंकले यसवर्ष विश्वव्यापी आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। उक्त वृद्धिदर यसअघि जुन महिनामा गरेको प्रक्षेपणभन्दा करिब आधा कम हो। गत जुनमा भने विश्व बैंकले सन् २०२३ मा विश्व अर्थतन्त्र ३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो।
हाल विश्व अर्थतन्त्र एउटै दशकमा दुई वटा आर्थिक मन्दी सामना गर्नुपर्ने संघारमा पुगेको विश्व बैंकले जनाएको छ। यता, विश्व बैंकको प्रक्षेपणअनुसार विकासशील राष्ट्रहरुको अर्थतन्त्र भने मध्यम रहने देखिएको छ।
यस वर्ष दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सको ८.२ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले गरेको छ। दोस्रोमा भारतको ५.९ प्रतिशत र तेस्रोमा बंगलादेशको ५.२ प्रतिशत रहने अनुमान छ। नेपालको अर्थतन्त्र भने यस वर्ष ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।