काठमाडौं– रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपाने १० वर्षसम्म (सार्वजनिक) पब्लिक कम्पनीमा सञ्चालक बस्न नपाउने भएका छन्।
धितोपत्र बोर्डले ७५ हजार रुपैयाँ जरिवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनी संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको हो।
बोर्डले न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको भन्दै कारबाही गरेको हो।
न्यौपानेलाई बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ मा भएको प्रावधान अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना र कारबाही गरेको जनाएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ दफा १०८ मा सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पनि सूचीकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने उल्लेख छ।
रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए।
सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ। तर, आफू सञ्चालक समिति अध्यक्ष वा सञ्चालक समिति सदस्य हुँदाहुँदै र पद छाड्नासाथ सेयर कारोबार गरेको धितोपत्र बोर्डको अनुसन्धानबाट देखिएपछि न्यौपाने कारबाहीमा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।