पोखरा– दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
मंगलबार सुरु भएको महानगरपालिकाको १२ औं नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडा सदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन्।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेदविरुद्ध लेखिएका पर्चा देखाएका थिए। उनीहरुले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
समारोहमा समय लिएर बोल्दै नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्कने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बताए।
उनले उक्त दुर्व्यवहारको घटना भ्रत्सनायोग्य रहेको भन्दै पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने धारणा राखे।
यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनीयोजनका विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारीले वडा सदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ।
उक्त घटनालाई लिएर नगरसभा सदस्य नै विरोधमा उत्रेपछि केहीबेर नगरसभा प्रभावित बनेको थियो। आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै वडा सदस्य नेपालीले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष अधिकारीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।