काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यमा सरकारले राजनीति गरिएको सरोकारवालाहरुले आरोप लगाएका छन्।
मंगलबार नेपाल आयल निगमले ५३औंँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवाला निकायका प्रतिनिधिहरुले राज्यले पेट्रोलियम पदार्थको मुल्यमा राजनीति भएको आरोप लगाएका हुन्।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताएका छन्। ‘पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु हो भनेर राज्यले छुट्याउनुपर्छ।
राजनीतिक वस्तुको रुपमा प्रयोग गर्ने हो भने अनुदान दिनुपर्छ, आर्थिक वस्तुको रुपमा मान्ने हो भने यसमा राजनीतिकरण गर्नुहुन्न,’ उनले भने।
पेट्रोलियम ढुवानी राष्ट्रिय महासङ्घका महासचिव विश्व अर्यालले पनि पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रुपमा हेर्न नहुने बताएका छन्। उनले डिजेलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रुपमा प्रयोग नहुनेमा जोड दिएका हुन्।
केही दिन पहिले प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले निगमलाई पेट्रोलको मुल्य कम गर्न निर्देशन दिएका थिए। उनीहरुले प्रचण्डप्रति लक्षित गर्दै पेट्रोलियम पदार्थमा राजनीति भएको आरोप लगाएका हुन्।
निगम लामो समय देखि घाटामा चलिरहेको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताएका छन्। उनले निगमले एक वर्षमा करिब ५० अर्बको नोक्सानी व्यहोरेको भन्दै पछिल्लो समय मूल्य घट्दा केही राहत भए पनि अझै पनि भारतीय आयल कर्पोरेसनलाई ११ अर्ब तिर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै तिर्न बाँकी रहेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।