काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो बैंकिङ मोबाइल एप् सञ्चालनमा ल्याएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेका हुन्।
आफ्ना ग्राहकलाई प्रविधिको प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप् सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ।
एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, विजुली बत्तीदेखि घरायासी प्रयोजनका बिल भुक्तानी तथा व्यक्तिगत खाताको विवरण हेर्ने लगायतका सुविधा प्राप्त गर्न सकिन्छ । यो एप् मोबाइल फाइनान्स टेक्नोलोजी प्रालिले विकास गरेको हो।
छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एप् बराबरकै फिचरहरू रहेका छन्।
सन् २००१ मा स्थापित छिमेक लघुवित्त वित्तीय संस्थाको नेपालका ६९ जिल्लाका आफ्ना १९५ शाखाहरूमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।
लघुवित्तका अनुसार चार लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म वित्तीय पहुँच पुर्याएको छ भने एक करोड रुपैयाँको सानो चुक्ता पुँजीबाट सुरु भएको मूलकोषको करिब १८० गुणा आकारमा वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।