काठमाडौं– ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताएका छन्।
सोमबार ग्लोबल आईएमइ बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोबल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गरे।
उनले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताए। उनले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जरले बैंकको अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आईएमई बैंक नेपालको पहिलो बैंकको रुपमा स्थापित भएको बताए।
अध्यक्ष ढकालले बैंक अफ काठमाण्डुसँगको मर्जरसमेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कूल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर ग्लोबल आईएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको बताए।
उनले बैंकले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताए। नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउँदै ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको उनको भनाइ छ।
उनले भने, ‘नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन हो। ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जर भएसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आईएमई बैंक नेपालको नम्बर १ बैंकको रुपमा रहनेछ। यो अगाडि पनि धेरै सूचांकमा नम्बर १ नै थियौं। मर्जरले अझै माथि उक्लन सफल भएका छौं। राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अगाडि बढेका हामी सरकारको मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने लिडरको रुपमा हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।