काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन्।
सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताए। उनले तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको बताए।
वर्तमान अवस्थामा केही सुधारको संकेत देखिएको भन्दै उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताए। मौद्रिक नीतिमा क्षालकुलेट रिस्क लिनै पर्ने अहिलेको आवश्यकता रहेको बताए।
सुरक्षा हेरेर मात्रै अघि बढ्दा समृद्धिको अपेक्षा पूरा गर्न नसकिने भन्दै उनले बैंकलाई बलियो बनाए मात्रै अर्थतन्त्र सफल हुने उनको भनाइ छ।
उनले भने, ‘बैंक बलियो भएपछि अर्थतन्त्रमा सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो। बैंकले नाफा गर्नैपर्छ। बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ। बैंक बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।