काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन्।
सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले बैंक, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरु स्वस्थ र सबल बन्ने बताए। उनले बैंकहरुको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताए।
बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले सानो कर्जालाई प्राथमिकता दिनुपर्ने पनि बताए।
‘सिस्टम र अर्थतन्त्रले खोजिरहेको विषय बैंक, वित्तीय संस्थाहरु मर्जर भइराख्दा हाम्रो वित्तीय प्रणाली थप सुरक्षित हुनेछ। संस्थाहरु थप स्वस्थ हुनेछन्। थप सबल हुनेछन्’, उनले भने, ‘अर्थतन्त्रमा बैंकिङ प्रणालीको इण्डिभिजुअल बैंकको पनि योगदान बढेर जानेछ भन्ने अपेक्षासहित यो पोलिसी ल्याएको हो। यो सालमात्रै १४ वटा बैंक मात्रै मर्जर भएको अवस्था छ।’
मर्जरमा राम्रो उपलब्धि भएको र बैंकहरु ठूला र संस्थाहरु मर्जर भइराख्दा बैंक वित्तीय संस्था आफैंमा सेल्फ रेगुलेशनमा पनि बेसी जानुपर्ने उनको भनाइ थियो।
आफ्नै नियमन बढाउनुपर्ने, बैंकसँग भएको रिसोर्सलाई धेरै भन्दा धेरै उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैंकले एक खालको नियम ल्याएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।