काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताएका छन्।
ग्लोबल आईएमई बैंक तथा बैंक अफ काठमाडूबीच एक आपसमा गाभ्ने (मर्जर) प्रक्रिया सम्पन्न भइ एकीकृत कारोवा आरम्भको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताए।
‘यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषद्को बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।
दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यसबाट देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गरे।
‘अहिले मर्जर लगायतका क्रियाकलापपश्चात ठूला परियोजनामा श्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा कहिलेकाहिँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने अपेक्षा गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने, ‘तर यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राख्न जरुरी छ।’
बैंकिङ क्षेत्रको विस्तार र सुध्रिढीकरणले दिएको अवसरको सही उपयोग गर्न सकियो भने ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रलाई गति मिल्ने र आम नागरिक तथा व्यवसायहरुको उत्थानशीलता बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
विप्रेषणको कारोबारलाई भरपर्दो र सुरक्षित गर्न समेत बैंक क्षेत्रको ठूलो भूमिका रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले ठूला परियोजनामा मात्र नभएर नवीनतम बैंकिंग तथा वित्तिय प्रोडक्ट प्रयोग गरेर आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तिय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकार नीजि क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताए। पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले निजी क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै उनले निजी क्षेत्रको मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिस्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको बताए। यसबाट बैंकिङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तीय मध्यस्थताको लागत समेत घटेको उनको भनाइ थियो।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले पूँजिगत खर्च बढनुपर्ने, मौद्रिक नीतिमा पुनरावलोकन हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।