धनगढी– भारतको लखनउमा बस दुर्घटना हुँदा ज्यान गुमाएका ३ जना नेपालीमध्ये २ जनाको पहिचान खुलेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले मृतक नेपालीमध्ये २ जनाको सनाखत भएको विवरण प्राप्त भएको जनाएको छ।
मृत्यु हुनेमा टीकापुर नगरपालिकाको ज्योतिनगर बस्ने ४० वर्षीय ललित साउद र टीकापुरकै व्यवसाय क्षेत्र घर भएका ४५ वर्षीय चन्द्र साउद छन्। मृतक नेपालीमध्ये १ जना महिलाको पहिचान खुल्ने नसकेको भनेर उत्तर प्रदेश प्रहरीबाट खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
भारतको गुजरातबाट नेपालको सीमावर्ती क्षेत्र पलियातर्फ आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान उत्तर प्रदेशको लखनउमा दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बसका चालक पनि रहेका जनाइएको छ।
दुर्घटनामा करिब १५ जना घाइते भएका जनाइएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको दुर्घटनाग्रस्त बसमै सवार कैलालीको टीकापुरका दीपेन्द्र साउँदले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।