काठमाडौं– झापाको मेचीनगर–१३ स्थित आयल निगमको नाममा रहेको जग्गा नाप्न जाँदा स्थानीयबासी आक्रमणमा उत्रिएका छन्। शनिबार आयल निगमका कर्मचारीसहितको टोली निगमको नाममा रहेको २३ बिगा ३ कठ्ठा १३ धुर जग्गा नापजाँच गर्न गएको थियो।
झापाको चारआलीमा रहेको निगम शाखा कार्यालयका प्रमुख भीम बहादुर विश्वकर्माका अनुसार उक्त जग्गाको पूर्वी एवं दक्षिण भागमा अतिक्रमण रहेको र सो जग्गाको नापी गरि निगमको जग्गा छुट्याइ दिनका लागि मेचीनगर नगरपालिका तथा नापी कार्यालय भद्रपुरलाई अनुरोध गरिएको थियो।
सोही क्रममा नापी कार्यालयले शनिबार नापी अधिकृतको टोलीलाई उक्त जग्गा नापजाँच गरी रेखांकन गर्न टोली पठाएको थियो। उक्त जग्गा स्थानीय सँधियार, नेपाल प्रहरीका प्रतिनिधि, नेपाल आयल निगमका कर्मचारी लगायतको उपस्थितिमा नापजाँच गर्ने क्रममा जग्गासंग असम्बन्धित व्यक्तिहरुले जग्गा रेखांकन कार्यमा अवरोध गरेको विश्वकर्माले जानकारी दिए।
उनीहरुले निगमका कर्मचारी सालिक बुढाथोकीमाथि हातपात समेत गरेको विश्वकर्मले जनाएका छन्। यस्तै, निगमका अन्य कर्मचारीहरुको सवारीसाधनको साँचो थुतेर यो स्थानमा नआउन भनी धम्की समेत दिइएको विश्वकर्माको भनाइ छ।
विश्वकर्माका अनुसार आक्रमणमा उत्रिनेहरुमा मेचीनगर– १३ बस्ने पुरुषोत्तम सिग्देल, दिपक सिग्देल, अर्जुन सिग्देल, संजीव सिग्देल लगायत १ जना स्थानीय सरकारी कर्मचारी समेत छन्।
आक्रमण गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरिएको विश्वकर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।