काठमाडौं– नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाण पत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो।
बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो। सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनोट भएका २० जनालाई पनि स्वागत गरेको छ।
बैंकले त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुलफोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो।
कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनोट गरेको थियो। तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए।
जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्री बजारमा प्रवेश गरिसकेका छन्। कार्यक्रममा सहभागीहरूले आफ्ना उत्पादनहरुको स्टलमा प्रदर्शनी गरेका थिए।
कार्यक्रममा नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रोडक्ट र सेवाहरू देख्दा धेरै खुसी लागेको बताए। बैंकको उद्यमी बनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमा काम गर्ने उनले बताए। ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।