गभर्नर महाप्रसाद अधिकारी (फाइल तस्बिर) काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको स्थिरता र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन्।
आइतबार बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र वाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तिय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका हुन्।
पछिल्लो समय विश्वका अधिकांश मुलुकमा वाह्य क्षेत्रको मन्दी देखिएको गभर्नर अधिकारीले उल्लेख गरे। गभर्नर अधिकारीले विश्वमा देखिएको वाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताए।
उनले विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै नेपालमा पनि केही मिल्दा असरहरु देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौती रहेको बताए। उनले नेपालको यो वर्षको मुख्य चुनौती भनेकै बाह्य क्षेत्रलाई स्थिरतामा राख्नु भएको भन्दै सम्बन्धित निकायहरुले त्यही अनुसार काम गर्न आवश्यक रहेको बताए।
गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको बताए। सन् २०२३ मा झनै घटेर २.७ प्रतिशतमा संकुचन आउने प्रक्षेपण रहेको अधिकारीले उल्लेख गरे।
‘विश्वको अर्थतन्त्र अहिले मन्दितर्फ गइरहेको छ। सन् २०२१ मा ६ प्रतिशतले विश्वको आर्थिक वृद्धि भएकोमा २०२२मा घटेर ३.२ मा आएको छ। २०२३ मा अझ घटेर २.७ प्रतिशतमा सीमित हुने अनुमान रहेको छ,’ अधिकारीले भने, ‘यसरी विश्व आर्थिक मन्दीमा गइराख्दा नेपालमा पनि यसका केही बाछिटाहरु आइरहेको पाइन्छ। अहिले जसरी निर्माण व्यवसायमा शिथिलता देखिएको छ, त्यसले अन्य सम्बन्धित विषयहरुलाई पनि छुँदै गएको छ। यो सालको नेपाललाई चुनौती भनेकै मूल्य स्थिरता कायम गर्ने बाह्य क्षेत्रको स्थिरता धेरै हदसम्म स्थिर हुँदै आएको छ। त्यसलाई कायम राख्ने र वित्तिय स्थायीत्व कायम नभएसम्म हामीले दिगो आर्थिक विकास र समग्र माक्रोइकोनमी स्थितरता कायम गर्न सक्दैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।