काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक आइतबार बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ।
बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ। समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।
बैठकबाट एकताका लागि संवाद समिति पनि गठन हुने बताइएको छ।
समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत अजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए।
शनिबार मात्रै नेकपा (माओवादी केन्द्र)ले वार्ता टोली गठन गरेको थियो। बृहत् वाम एकताको लागि पहल गर्न भनेर गठन गरिएको वार्ता टोलीमा कृष्णबहादुर महरा, देव गुरूङ, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन्।
माओवादी केन्द्र र नेसपा गत चुनावमा एउटै चिह्नबाट प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।