काठमाडौं– पार्टीबाट छुट्एिको सात वर्षपछि प्रधानमन्त्रीसमेत रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच फेरि एकता हुने सम्भावना बढेको छ।
बालुवाटारमा शनिबार भएको भेटवार्तामा उनीहरू पार्टी एकताको तयारी गर्ने सहमति गरेका छन्। सो भेटलगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले नेसपासँग वार्ता गर्न कार्यदल (वार्ता टोली) बनाएको छ। उपाध्यक्ष कृष्णबहादुर महराकाे नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको हाे।
वार्ता टोलीमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पाखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन्।
माओवादीसँग वार्ता गर्न नेसपाले भने आइतबार वार्ता टोली बनाउने बैठकमा सहभागी नेता गंगा श्रेष्ठले जानकारी दिए। बैठकले वृहत् वाम एकताका लागि पहल गर्ने निर्णय गरेको पनि बताइएको छ।
२०७२ मा संविधान बनेलगत्तै भट्टराईले माओवादी छोडेर नयाँ शक्ति पार्टी खोलेका थिए। उनी त्यसबाट जनता समाजवादी पार्टी (जसपा) हुुँदै नेसपा गठनसम्म पुगेका छन्। भट्टराई कुनै समय माओवादीका उपाध्यक्ष थिए भने सोही पार्टीमै रहँदा प्रधानमन्त्रीसमेत भएका थिए।
गत निर्वाचनमा पनि भट्टराई नेतृत्वको पार्टी नेसपाले माओवादीकै चुनाव चिन्ह लिएर चुनाव लडेको थियो।
शनिबारको सहमतिसँगै अब फेरि प्रचण्ड र भट्टराई एउटै पार्टीमा हुने सम्भावना बढेको छ, उनीहरू समाजवादी केन्द्र बनाउन सहमत भएको बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।