काठमाडौं– ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन्।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुवै बैंकका कर्मचारीहरुले शनिबार गरेको वाकथनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढकालले यस्तो बताएका हुन्।
पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ। उनले देशकै ठूलो बैंक भएपछि आफूहरुले बैंकिङ क्षेत्रमा करिब १० प्रतिशत हिस्सा लिने उल्लेख गरे।
ढकालले बैंक स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुशीको कुरा भएको पनि बताए। उनले आगामी दिनमा बैंकका सेवा बिस्तार गरी, चुस्त, दुरुस्त सेवा दिने र सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नको लागि लगानी दिने बैंकका रुपमा अघि बढाउने बताए।
दुई बैंकहरुको मर्जरपश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ बिस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।
मर्जरपश्चात् बैंकको कूल पूँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब रुपैयाँ, कूल निक्षेप ४०८ अर्ब रुपैयाँ, कूल कर्जा ३७६ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डुको तर्फबाट २ जना रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।