काठमाडौं– ब्रोकर एशोशियसनको १२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। ब्रोकर एशोशियसनले (लगानीकर्ता शिक्षा तथा सचेतना, पुँजी बजारको दिगोपना) भन्ने नारासहित साधारणसभा सम्पन्न गरेको हो।
सभामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब शाखा विस्तारको लागि स्वीकृति नै लिनु नपर्ने गरी व्यवस्था गर्न लागिएको बताए। अहिले ब्रोकरहरुले शाखा विस्तारको लागि धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने व्यवस्था रहेको छ। लामो समयसम्म बोर्डले स्वीकृति नदिँदा ब्रोकर कम्पनीहरुको शाखा विस्तार रोकिएको क्रम रोकिएको छ।
यस्तै, नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर कार्कीले यही आर्थिक वर्षभित्रै सिमुलेसन सफ्टवेर लञ्च गर्ने बताएका छन्। उनले त्यसको लागि नेप्सेले काम गरिरहेको बताए। यसैगरी, कार्कीले म्याचिङ इन्जिनलाई रिप्लेसमेन्ट गर्नको लागि अध्ययन सुरु गरिएको पनि जानकारी दिए। उनले ओटिसि बजारलाई यही आर्थिक वर्षभित्र अटोमेटेड गर्ने पनि बताए।
सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले डाटा सेन्टरको ब्याकअपका लागि ३ ठाँउमा डाटा सेन्टर स्थापना गरिएको बताए। डीसीएससीको कार्यालय, जीआईडीसी र केही दिनअघि मात्रै हेटाैँडामा ब्याकअपका लागि डाटा सेन्टरको स्थापना गरिएको बताए।
सभामा ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले लगानीकर्ताको जनचेतना बढाउनुपर्ने उल्लेख गरे। अहिले लगानीकर्ताको संख्या बढ्दै गएकोमा उनीहरुको सेयर बजारसम्बन्धी जनचेतनासमेत बढाउनुपर्ने उनले बताए।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने बताएका छन्। उनले सेयर धितो कर्जाको सीमाका कारणले लगानीकर्ता मारमा परेको भन्दै त्यसलाई हटाउनुपर्ने र त्यसको लागि धितोपत्र बोर्डले समन्वयको भूमिका खेल्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।