काठमाडौं– सरकारले अर्थसहित विभिन्न मन्त्रालय र संवैधानिक निकायका सात सचिवको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले यस्तो निर्णय गरेको हो।
बैठकले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवमा बनाइएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। रायाको स्थानमा वाणिज्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका सचिव मधु मरासिनीलाई पठाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका अर्का सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा रामप्रसाद घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव रामेश्वर दंगाललाई अख्तियारमा पठाइएको छ। दंगाल विगतमा अख्तियारमा एकपटक प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।