काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स,निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन्।
बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स,निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन्।
उनले सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए।
गोल्छाले अर्थतन्त्रको तीन वटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे। उनले सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए।
अध्यक्ष गोल्छाले बैकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताए। उनले अहिले विदेशी मुद्राको आयस्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिए।
अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताइन्। उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौति भएको उल्लेख गरे।
उनले सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको गुनासो गरे। अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुईङ विजनेस बढिरहेकाले नेपाली निर्यातजन्य वस्तुहरुलाई प्रतिस्पर्धी बनाउन नसकिएको बताए।
निर्यात परिषद्ले २५औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा सुरु गरेको छ। पदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ। प्रदर्शनीमा २० वटा स्थल राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।