काठमाडौं– रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन्। नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म विभिन्नखाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो।
यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्यु लकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन्।
आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन्।
सवारी साधनको साथसाथै चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री ६३९, हाइड्रोका सामग्री ३६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपूर्जा दुई, इलेक्ट्रिक पार्ट १७, टेलिफोनका सामग्री सात, नस्पाती ११ टिपका साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन्।
ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ। कोभिड संक्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भएपनि माल सामग्री भने चिनियाँ ठूला टिपरद्वारा चिनियाँ सवारी चालकबाटै नेपाल भित्र्याउने गरिएको छ।
प्रत्येक दिन बिहान र दिउँसो दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुल्ला गरी रोग रोकथामका लागि औषधि छ्याप्ने चलन बसालिएको छ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मंसिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्यांकनबाट दुई अर्ब ९० करोड भन्सार शुल्क बापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ।
यसैगरी, यही मंसिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने एक करोड ३१ लाख बराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए।
दश दिनको अन्तरालमा ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो। निकासी सामग्रीहरूमा बस्नका लागि बाँसका मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामग्री रहेको बताइएको छ।
कोभिड संक्रमणको समस्यालाई गम्भीरतापूर्वक मनन् गरी नेपाली भूभागको क्वारेन्टिनमा बसेका कामदारबाट आयात निर्यातका सामग्री एक आपसी पल्टी गर्ने व्यवस्था मिलाइएको छ।
रसुवागढीबाट टिमुरेको भन्सार हातासम्म मालवाहक कन्टेनर डिब्बा ल्याउनका लागि १७ जना सवारी चालक र सामान पल्टीका लागि ३५ जना मजदुर क्वारेन्टिनमा रहँदै आएको सीमा सुरक्षाकर्मीले बताएका छन्। रसुवागढीदेखि भन्सार हाता टिमुरेसम्म दैनिक करिब तीन सयजना मजदुरले रोजगारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।