काठमाडौं- नेपाल आयल निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुँदा पनि इन्धनको मूल्य भने यथावत राखिएको छ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट आइतबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा २.५४ प्रतिलिटर, डिजेलमा २.९५ प्रतिलिटर, हवाई इन्धनमा ४.१३ प्रतिलिटर र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ ले बढेको र मट्टितेलमा केही घटेर आएको भएतापनि निगमलाई हाल एलपी ग्यासमा ३५९.५० प्रतिसिलिण्डर घाटा (१५ दिनको घाटा ४६.४४ करोड ) भई पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने अवस्था देखिएको निगमले जनाएको छ।
निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ।
‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ’, निगमले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।