विष्णु पौडेल (फाइल तस्बिर) काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पोखरा र गण्डकी प्रदेशका जनताले चाहेजस्तै अब पर्यटकको ओइरो लाग्ने बताएका छन्।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अब पोखरामा पर्यटकको ओइरो लाग्ने बताएका हुन्।
उनले तत्कालीन प्रधानमन्त्री केपी सर्मा ओलीले शिलान्यास गरेर विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढेको पनि उल्लेख गरे। विमानस्थलको अधिकतम् र उचित प्रयोग कसरी गर्ने भन्ने रहेको पौडेलको भनाइ छ।
मन्त्री पौडेलले विमानस्थललाई पूर्ण क्षमतामा चलाउनका लागि नागरिक उड्डयन प्राधिकरणलाई सरकार र अर्थ मन्त्रालयको भरपुर सहयोग रहने बताए।
‘म आफैं पनि यो प्रदेशको माटोमा हुर्किएको हो। त्यसैले यहाँको विकासको लागि चासो र प्रयास रहने छ। पोखराको एक्लै विकास हुँदैन। पोखरा चितवन, काठमाडौं, जोमसोम लगायतका स्थानसँग जोड्न आवश्यक छ, जसको लागि विभिन्न राजमार्गहरूको स्तरोन्नति हुँदै छ,’ पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।