काठमाडौं– उर्मिला थेवेले नेकपा एमालेको राजनीति गरेको लामै समय भएको थियो। २०७४ को आम निर्वाचनमै उनलाई उम्मेदवार बन्ने इच्छा थियो। तर पार्टीले टिकट दिएन। भर्खरैको निर्वाचनमा पनि संघ वा प्रदेश जता पाए पनि प्रत्यक्ष निर्वाचन लड्ने चाहना थियो उनको।
उर्मिलाले आफ्नो इच्छा जिल्लामा राखिन्। पहुँच भएसम्म सबै नेतालाई प्रत्यक्ष लड्न मन भएको बताइन्। उनको कुरा कसैले सुनेन। त्यसपछि केन्द्रसम्म कुरा राखिन्। उनकै क्षेत्रमा प्रतिनिधि सभाका लागि योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोको दावी थियो।
योगेश पार्टीका केन्द्रीय सचिव र तिलकुमार पोलिटब्यूरो सदस्य हुन्। उर्मिला भने केन्द्रीय सदस्य मात्रै। त्यसैले योगेश र तिलकुमारमध्ये एक जनाले टिकट पाउने पक्का थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भइसकेका योगेश युवामाझ लोकप्रिय पनि मानिन्छन्। २०७४ मा ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सांसद पनि भएकाले योगेश पार्टीको पहिलो रोजाइका उम्मेदवार थिए।
तिलकुमार २०५६ मा निर्वाचित सांसद हुन्। २०६४ मा भने उनी पराजित भएका थिए। अन्तमा योगेशलाई प्रतिनिधि सभा र तिलकुमारलाई प्रदेश 'क'मा उम्मेदवार बनाइयो। उर्मिलालाई भने समानुपातिक सूचीमा परिन्। उनी भन्छिन्, ‘मलाई प्रत्यक्ष लड्न मन थियो तर, पार्टीले समानुपातिक उम्मेदवार बनायो।’ उनी प्रतिनिधि सभाको समानुपातिकतर्फबाट आदिवासी जनजाति कलस्टरबाट सांसद बन्न सफल पनि भइन्।
०००
उर्मिलाको जन्म २०१७ सालमा भएको हो। उनको बाल्यकाल पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३, पौवासातामा सुखसयलमै बित्यो। बाजे पञ्चायत पक्षधर थिए। पछि उनका बुबा नागेन्द्रराज सुब्बाले पनि पञ्चायतको राजनीति गरे। दाजुहरु भने विस्तारै नेपाली कांग्रेसमा झुकाव राख्न थाले।
राजनीतिक बिरासत बोकेको परिवार भएकाले उर्मिलालाई पढ्न गाह्रो भएन। त्यो बेला पूर्वी जिल्लाका विद्यार्थीहरु पढ्नका लागि सिक्किम र दार्जिलिङ जान्थे। दार्जिलिङ नजिक भएकोले सक्नेले आफ्ना छोराछोरी त्यहाँ पठाएर पढाउँथे।
२००७ सालमा उनका बाजे-बोजुको नाममा बुबाले गाउँमै विद्यालय स्थापना गरेका थिए। उर्मिलाले सोही विद्यालयमा अध्ययन गरिन्।
सम्पन्न परिवार भएकोले पनि उनलाई पढ्न समस्या थिएन। उनका अनुसार दाजुहरु त्यो बेला दार्जिलिङमा नेपालका पूर्व राजाहरु वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह पढेको विद्यालयमा पढेका थिए। वीरेन्द्र र ज्ञानेन्द्रसँगै उनका भाइले दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा आठ वर्ष अध्ययन गरेका थिए।
प्रारम्भिक शिक्षामा गाउँमा लिएकी उर्मिलाले पछि फिदिममा आएर १० कक्षासम्म पढिन्। २०३२ सालमा एसएलसी दिइन्। तर पास हुन सकिनन्। विवाहपछि मात्र उनले एसएलसी पास गरेकी थिइन्।
२०३५ सालमा ताप्लेजुङका भुपेन्द्र थेवेसँग उर्मिलाको विवाह भयो। उमेर लगभग १८ वर्ष भएको थियो। चार दिन लगातार हिँडेर विवाह गरेको उनी अहिले पनि सम्झिन्छिन्।
कांग्रेसी परिवारमा जन्मे/हुर्के पनि श्रीमानको घरमा भने सबै जना नेकपा एमाले निकट थिए। ‘कांग्रेसकै दानापानी खाएर पछि एमाले भएँ’, उनले हाँस्दै भनिन्, 'मैले परिवारलाई कांग्रेस बनाउन सकिनँ। बरु म नै एमाले भएँ।’
श्रीमान् भुपेन्द्र २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भए। एमालेका सचिव भट्टराई २०७४ सालदेखि जिल्लामा गएपछि भने उनले चान्स पाएका छैनन्।
उर्मिलाले सुरुवाती चरण्मा टोल कमिटीमा रहेर काम गरिन्। इलाका हुँदै जिल्लामा रहेर पार्टीमा काम गरिन्। १२ वर्षसम्म जिल्ला कमिटीमा रहेर काम गरेकी उनी १०औँ महाधिवेशनपछि भने केन्द्रीय कमिटीमा छिन्। भुपेन्द्र भने ताप्लेजुङ जिल्ला कमिटी अध्यक्ष छन्।
वडा अध्यक्ष हुँदै सांसद
२०७४ सालको स्थानीय तह निर्वाचनमा उर्मिला ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- १ को वडाध्यक्षमा निर्वाचित भइन्। उनले नेपाली कांग्रेसका सुनिल थेवेलाई पराजित गरेकी थिइन्।
वडाध्यक्ष उर्मिलालाई गत स्थानीय चुनावमा सिरिजङ्गा गाउँपालिकाको अध्यक्ष हुन जिल्लाबाट प्रस्ताव आयो। उनले त्यो प्रस्ताव इन्कार गरिन्। 'पार्टीमा मैले राजनीति गरेको लामो समय भइसकेको थियो,' उनले भनिन्,‘मलाई प्रदेश वा संघमा जान मन थियो। त्यसैले गाउँपालिका अध्यक्षको प्रस्ताव मानिनँ।’
२०७४ मा वडाध्यक्ष भएकी उर्मिला अहिले नेकपा एमालेका तर्फबाट सांसद बनेकी छन्। उनी भन्छिन्, ‘बल्ल पार्टीले मलाई न्याय गर्यो।’
सांसद भइसकेपछि अब समग्र देशका समसामयिक विषयवस्तु उठाउने उनले बताएकी छन्। यसका साथै जिल्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा बोल्ने उनले बताइन्। 'एमालेले लिएको समृद्ध नेपालको नीतिलाई साकार रुप दिन लागिपर्नेछु। ताप्लेजुङका समस्या सदनमा बुलन्द पार्नेछु,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।