झापा– युवा व्यवसायी निराकार पाण्डेले कम्बोडियामा आफू बसेको होटलमा भएको आगलागीबाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खबर फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ। स्थानीयवासी मृतकको घरमा भेला भएका छन्। झापामा रहेका मृतकका बुबा अग्नि पाण्डे घटना सुनेलगत्तै काठमाडौं गएका छन्। काठमाडौंमा मृतककी आमा र अरू भाइ रहेका छन्।
झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपत्का बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकाेमा गहिरो खेद व्यक्त गरे। “चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आस बाँकी नरहेपछि बाँच्नका लागि १२औँ तलाबाट हामफाल्नु पर्यो,” उनले भने, “बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्नु हुन्थ्यो।”
सङ्गीतकार शिवशङ्कर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्तब्ध भएको बताए। मृतक सङ्गीतकार थापाका छिमेकी थिए। “सानैदेखि असल र मिहेनती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ,” थापाले भने, “भरपर्दो उद्धारको व्यवस्थासमेत देखिएन, मृतकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरका नेपालीलाई स्तब्ध बनाएको छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।