काठमाडौं– उद्योगीहरुले सरकारको नीति र बैंक तथा वित्तीय संस्थाहरुले लिँदै आएको उच्च ब्याजदर बिरुद्धको आन्दोलन स्थगित गरेका छन्।
नयाँ सरकार बनेलगत्तै अर्थमन्त्री बिष्णु पौडेलले उद्योगीहरुसँग भेटघाट र समस्या सुन्ने तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरुले आन्दोलन स्थगित गरेका हुन्।
केही समययता उद्योगीहरु कर्जामा भएको अस्वभाविक ब्याज बृद्धि, पुनरकर्जालाई क्रमिता हुनुपर्ने, चालु आर्थिक वर्षको हाल तेस्रो किस्ताको साँवा र ब्याज भुक्तानीको भ्याद थप र चालू पुँजी कर्जा निर्देशिकाको स्थगत गर्नुपर्ने मागसहित आन्दोलनमा थिए।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलन स्थगित गर्ने घोषणा गरेका हुन्।
उक्त पत्रकार सम्मेलनमा मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीम न्यौपाने, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका लगायतका उद्योग व्यवसायीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।