काठमाडौं– सत्तारुढ नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियले सेमेस्टरको आन्तरिक परीक्षामा बीएएलएलबी प्रमुखबाट व्यापक स्वच्छेचारी काम गरेको आरोप लगाएको छ।
बीएएलएलबी प्रमुख स्वच्छाचारी भएको भन्दै अनेरास्ववियुको ल क्याम्पस कमिटीले सेमेस्टर अन्त्य गरी परीक्षाको आन्तरिक नतिजा प्रकाशन गर्न माग गरेको छ।
त्रिभुवन विश्वविद्यालयले बीएलएलबी र एलएलएम तहमा सेमेस्टर प्रणाली लागू गरिसकेपछि ६० प्रतिशत लिखित र ४० प्रतिशत आन्तरिक मूल्याङ्कनबाट गरिने आन्तरिक मूल्याङ्कन प्रणाली प्रारदर्शी नभएको जनाएको छ।
मंगलबार नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा डीएन पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले विगतका नतिजाहरूमा बीएएलएलबी प्रमुखबाट व्यापक स्वच्छेचारी, मनपरी एवं पक्षपातपूर्ण तरिकाबाट काम हुने गरेको आरोप लगाएको छ। पटक–पटक डिन कार्यालय र क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउँदासमेत उचित सुनुवाइ नभएको अनेरास्ववियु नेपाल क्याम्पस कमिटीका अध्यक्ष वसन्त जोशीले नेपाल लाइभलाई बताए।
‘बीएएलएलबी १० औं सेमेस्टर (२०७३) का संयाजकको मनपरी देखियो। आन्तरिक परीक्षामा फेल भएका र हाजिरी नपुगेकाहरूलाई पूरै अंक दिने गरेको भेटियो। खासगरी, क्लिनिकल ल र थेसिसजस्ता विषयमा अनुहार हेरेर नम्बर दिएको पाइयो। यस विषयमा क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘माग सुनुवाइ नभए अनेरास्ववियुले कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छ।’
यस विषयलाई गम्भीरतापूर्वक लिन्छु : क्याम्पस प्रमुख पराजुली
अनेरास्ववियुले बुझाएको विज्ञप्ति बुझ्दै क्याम्पस प्रमुख डा डीएन पराजुलीले विद्यार्थी र शिक्षकबीच पवित्र नाता हुने भएकाले यस्तो कुरा हुनै नसक्ने दाबी गरे। उनले यो चुनौतीको विषय रहेको बताउँदै यसलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरे। उनले यस विषयमा संयोजकदेखि विषय शिक्षकसँग छलफल गर्ने भन्दै विद्यार्थीहरूलाई आश्वस्त पारेका छन्। उनले खेलको नियम फेयर हुने दाबी गर्दै, संयोजकसँग छलफल गर्ने दाबी गर्दै यस्ता कमजोरी हुन नदिन क्याम्पस प्रशासन सर्तक रहेको विश्वास दिलाएका छन्।
बीएएलएलबीकी संयोजक कविता श्रेष्ठले भने अन्तिम सेमेस्टारका विषयमा आफू अनविज्ञ रहेको नेपाल लाइभसँग दाबी गरिन्। उनले आफू भर्खरैमात्रै संयोजक भएकाले १० औं सेमेस्टरका विषयमा अघिल्लो संयोजक जिम्मेवार रहेको आरोप लगाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।