अर्थमन्त्री पौडेल (फाइल तस्बिर) काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताएका छन्।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। अहिलेको अवस्थामा निजी क्षेत्रले बेहोरिरहेको समस्याप्रति सरकार संवेदनशील रहेको मन्त्री पौडेलको भनाइ छ।
अर्थतन्त्रको समस्या समाधान गर्नेकुरामा सरकारले विलम्व गर्नु नहुनेमा आफू गम्भीर रहेको पनि पनि पौडेलले उल्लेख गरे। अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकारका समस्या सरकार भएर हेर्नुपर्ने बताए।
निजी क्षेत्र र सरकार नदीका दुई किनारा नभइ एउटै नदी प्रणाली भएको मन्त्री पौडेलको भनाइ छ। मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल टुटेर निजी क्षेत्रका समस्या समाधान नभए राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्ने बताए।
‘सरकार निजी क्षेत्रले बेहोरिरहेको समस्याको संवेदनशील छ। यो समस्या समाधान गर्ने काममा हामीले विलम्व गर्नु हुँदैन भन्ने सरकार छ,’ मन्त्री पौडेलले भने, ‘सरकार हाम्राप्रति संवेदनशील छ भन्ने सोच्नुहोस्। तपाईंहरु सरकार भएर हेर्नुहोस्, म निजी क्षेत्र भएर हेर्छु। हामी एउटै नदी प्रणाली हौँ। हामी नदीका दुई किनारा होइनौँ।’
मन्त्री पौडेलले निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको बताए। निजी क्षेत्रका प्रतिनिधिहरुलाई कमजोर नभइ उच्च मनोबल बनाएर अघि बढ्न पनि पौडेलले आग्रह गरे।
अर्थतन्त्रमा देखिएका केही समस्या गम्भीर पनि रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको मन्त्री पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।