काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता टेक बहादुर गुरुङ सांसद पदबाट निलम्बनमा परेका छन्।
गुरुङविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले उनी निलम्बनमा रहेका संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
महासचिव गौतमले मंगलबार जारी गरेको सूचनामा गुरुङविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वत: निलम्बनमा रहने कानुन व्यवस्था कार्यान्वयन गरिएको उल्लेख छ।

२०७५ माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने समेत १४ जनालाई विपक्षी बनाएको छ। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको छ।
अख्तियारले समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कालीन कोषाध्यक्ष रन्न गाहामगर, तत्कानीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाएको थियो।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत ठेक्का सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।
गुरुङविरुद्ध अख्तियारले ३१ करोड बिगो दाबी गरेको छ। अख्तियारले मुद्दा दर्ता गरेपछि अदालतमा उपस्थित भएका गुरुङ २०७५ चैत्रमा साधारण तारखेमा छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।