काठमाडौं– एउटा मात्रै निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका टेकबहादुर गुरुङ आफूविरुद्धको भ्रष्टाचार मुद्दा टुंग्याउन सक्रिय भएका छन्।
जनमतबाट निर्वाचित भएपनि भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन भएका कारण हालसम्म गुरुङले संसद् प्रवेश गर्ने अवस्था बनेको छैन। निर्वाचन परिणाम सार्वजनिक भएर अन्य उम्मेदवारहरु मतदातालाई धन्यवाद दिन गाउँ–गाउँ गइरहेका बेला गुरुङले भने आफूविरुद्धको भ्रष्टाचार मुद्दाबारे कानुन व्यवसायीसँग छलफल थालेका थिए।
आफ्ना कानुन व्यवसायीसँग छलफल गर्दै गुरुङले आफूविरुद्धको मुद्दाको बाँकी प्रक्रियाबारे जानकारी लिएका थिए। कानुन व्यवसायीले अब अर्को पेसीदेखि अन्तिम सुनुवाइ सुरु हुने बताएपछि उनी निर्वाचित भएको प्रमाणपत्र बुझ्न मनाङ फर्किएका थिए।
नेपाली कांग्रेस मनाङका जिल्ला सभापति समेत रहेका गुरुङ जोडिएको उक्त मुद्दा वुधबार पेसीमा चढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते दायर गरेको उक्त मुद्दाका कारण संघीय सांसदको भूमिकामा हुन नपाउने भएपछि उनी मुद्दा टुंग्याउन लागेका हुन्।
के थियो मुद्दा ?
२०७५ माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने समेत १४ जनालाई विपक्षी बनाएको छ। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको छ।
अख्तियारले समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कालीन कोषाध्यक्ष रन्न गाहामगर, तत्कानीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाएको थियो।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत ठेक्का सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।
गुरुङविरुद्ध अख्तियारले ३१ करोड बिगो दाबी गरेको छ। अख्तियारले मुद्दा दर्ता गरेपछि अदालतमा उपस्थित भएका गुरुङ २०७५ चैत्रमा साधारण तारखेमा छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।