काठमाडौं– दक्षिण कोरियाबाट ल्याइएका शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरुलाई वितरण गरिएको छ। हेफर इन्टरनेशनल नेपालको पहल र नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको हो।
दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो। हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ।
हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले पुस ९ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरी गाई सिन्धुली पुर्याइएको छ।
उत्पादनको हिसाबले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ। नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरै गाई आएको हेफरले बताएको छ। हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभइ नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरु ल्याएको बताए।
श्रेष्ठका अनुसार नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको छ। नेपालमा रहेको ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेका छन्।
नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने श्रेष्ठको भनाइ छ। श्रेष्ठले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षण गरी नश्ल सुधारको कामसमेत गरिरहेको बताए।
श्रेष्ठले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नश्ल भएका गाईमा उत्पादन क्षमता बढी भएकाले ल्याइएको बताए। ‘दूधको उत्पादकत्व बढाउन वंशाणुगत क्षमता तथा आहारा, स्वास्थ्य र पालनपोषणमा भर पर्नेछ। कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको छ,’ उनले भने।
नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरु राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने समेत डा. श्रेष्ठले बताएका छन्।
कोरियाको गाईले अहिले प्रतिदिन ३२ लिटरसम्म दूध दिन्छन्। नेपालमा पनि त्यो जेनेटिक पुललाई न्युक्लेस हटको रुपमा स्थापना गरे अबको लागि गाईको एनएलवीओलाई चाहिने कोरियन साढेहरुलाई कोरियन गाईहरुबाट जन्मेको बाच्छोहरुलाई बिल्डिङ कार्यालय पोखरा र लहानमा लगेर सिमेन संकलन गर्ने र राष्ट्रिय क्याटल हटलाई जेनेटिभ सुधार गर्ने उदेश्यले ल्याइएको बताइएको छ।
’अहिले १ सय जना किसानलाई दिएरभन्दा हेफरले दीर्घकालका लागि सोचेर नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर अब जन्मने सन्ततीहरु राम्रो हुन्छ भन्ने अपेक्षा गरिरहेका छौं,’ उनले भने।
हेफर ईन्टरनेशनल नेपालका डा.श्रेष्ठले नश्ल राम्रो भएको गाई ल्याएर पालनपोषण नेपालमा भएको गाईको भन्दा पनि नराम्रो हुने भन्दै किसानलाई तालिमसमेत दिएको बताए।
उनले कोरियन गाई पाल्नको लागि सिन्धुलीका किसानलाई समूहमा आवद्ध गरेर गाई वितरण गरिएको बताएका छन्। साथै किसानहरुलाई उन्नत गाई पाल्ने प्रविधि, स्वच्छ दूध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको र गाइको हेरचाहका लागि दक्ष भेटनरी डाक्टर खटाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।