काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। यससम्बन्धमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट विशेष निर्णय भइसकेको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने बताए।
‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनुभयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनिएको छ।
प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना व्यक्त गरे। अध्यक्ष गोल्छाले अर्थतन्त्रको वर्तमान अवस्थाबारे पनि प्रधानमन्त्रीलाई अवगत गराए।
प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे।
महासंघका अध्यक्ष गोल्छाले प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार भएकाले यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराए।
उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालू पूँजी कर्जा मार्ग निर्देशन कम्तीमा २ वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने महासंघले सुझाव दिएको छ।
मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा महासंघका अध्यक्ष गोल्छाको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।