पोखरा– अभिनेत्री स्वस्तिमा खड्का फिल्म क्षेत्रमा आएको ५ वर्षसम्म कमर्सियल धारका फिल्ममा मात्र जमिरहेकी थिइन्। त्यतिबेला उनले काम गरेको टिमले कहिल्यै पनि फिल्म समीक्षालाई चासोका रुपमा लिएको थिएन।
त्यसपछि उनले विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’मा मुख्य भूमिकामा अभिनय गरिन्। कमर्सियलबाट बाहिर रहेका फरक धारका सिनेमामा काम गरेपछि मात्र उनी फिल्म समीक्षालाई बुझ्न थालिन्। ‘त्यसपछि मात्र मैले फिल्ममा समीक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा थाहा पाएँ,’ स्वस्तिमा भन्छिन्।
पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा उनले फिल्म समीक्षा माथिको धारणा सुनाइरहेकी थिइन्।
बसहमा स्वस्तिमासँगै फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। दीपेन्द्र, जो फिल्म बनाउनुअघि कडा समीक्षकका रुपमा परिचित थिए। कार्यक्रमको सहजकर्ता थिए अर्का समीक्षक सुरज सुवेदी।
अनुपलाई सुरजले प्रश्न गरे, ‘फिल्म समीक्षा के हो त?’
अनुप फिल्म आफूले हेरेर बुझेको कुरा तर्कसहित अरुलाई बुझाउनुलाई फिल्म समीक्षा मान्छन्।
स्वस्तिमा क्राफ्टको व्याख्यालाई फिल्म समीक्षा मान्छिन्। ‘फिल्म प्रदर्शन भएपछि दर्शकलाई कस्तो लाग्यो भनेर सोध्नुभन्दा समीक्षकले आफ्नो हिसाबले बुझाउनु समीक्षा लाग्छ,’ स्वस्तिमा भन्छिन्।
दीपेन्द्र फिल्म समीक्षा आवश्यकता कसरी जन्मियो भन्नेबारे सुनाउँछन्, ‘प्रोड्युसरले आफूले बनाएको फिल्म नेपालमा अहिलेसम्म बनेकै छैन भनेर भ्रम छर्थे। यो फिल्म वास्तवमा कस्तो छ त? भ्रम चिर्ने जिम्मेवारी बोध भएर समीक्षा गर्न थालेँ,’ उनी भन्छन्।
फिल्म समीक्षाबारे मेकरको बुझाइ
नेपाली फिल्ममाथि आउने समीक्षालाई कलाकार तथा फिल्ममेकरले कसरी लिन्छन् त? स्वस्तिमा फिल्ममेकरहरू समीक्षालाई नस्वीकार्ने बताउँछिन्। तर आफ्नो निर्णय र बुझाइमा समीक्षाले योगदान गरेको उनको अनुभव छ। ‘मैले गर्ने फिल्म छनोट, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समेत समीक्षाले एकदमै सहयोग गरेको छ। रिभ्यूलाई म एकदमै सकारात्मक लिन्छु,’ स्वस्तिमा भन्छिन्।
उनले एउटा लख काटेकी छन्, ‘समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन।’
उनी समीक्षकले रुचाएको फिल्ममा आफूले काम गरेको फिल्म ‘बुलबुल’लाई सम्झिन्छिन्। ‘१० वर्षपछि पनि यो फिल्मको कुरा गरिन्छ। आज पनि किन बुलबुलकै कुरा गरिन्छ त? फिल्म लिट्रेसी भएका दर्शकले मन पराएका कारण होला नि!’ उनी भन्छिन्।
फिल्म समीक्षकलाई नस्वीकार्ने प्रसंगमा दीपेन्द्र सुनाउँछन्, ‘मैले पनि समीक्षा गर्दा तँलाई लाइसेन्स कसले दियो भनेर गाली आउँथ्यो।’
समीक्षकको समीक्षा कस्तो?
अनुप सुवेदी फिल्म समीक्षक आम दर्शकभन्दा बढी बुझेको हुनुपर्ने बताउँछन्। दर्शकलाई ‘कन्भिन्स्ड’ गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताउँछन्। तर समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ। कारण के त? ‘एउटा समीक्षकले पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ। अनि समीक्षा पनि गर्नुपर्छ। यदि पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि,’ दीपेन्द्र भन्छन्।
स्वस्तिमा समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गर्छिन्। ‘एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त? मैले यसको अनुभूत गरेको छु,’ स्वस्तिमा भन्छिन्।
अनुप समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताउँछन्। उनी नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाउँछन्। ‘समीक्षकले त पाठकलाई सचेत गराउने हो नि। तर मेकरलाई सिकाइरहेको पाइन्छ,’ उनी भन्छन्।
अनुप अहिलेको समीक्षा कथासारजस्ता मात्र भएको बताउँछन। ‘कथासार लेख्यो, यसले राम्रो गर्यो, यसले गरेन भन्ने मात्र छ। किन राम्रो गर्यो, किन गरेन भन्ने तर्क आउन्नन्। त्यसको डिटेलिङ छैन। हाम्रो समीक्षकले फिल्म भनेको कथामात्र हैन, अरु कुरा पनि हो भनेर नबुझेको हो कि,’ उनी थप्छन्।
दीपेद्र नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको पाउँछन्। ‘संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा छ। सम्पादकले प्राथमिकतामा नराखेर हो कि,’ उनी भन्छन्।
समीक्षकको स्तर बढीदिए हुन्थ्यो भन्ने अपेक्षा छ दीपेन्द्रको। ‘कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ,’ उनी भन्छन्।
नेपालमा ‘पेइड रिभ्यू’को ‘ट्रेन्ड’बारे पनि दीपेन्द्र भन्छन्। ‘नेपालमा पेड रिभ्युको चलन छ। विज्ञापन राम्रो छ भने त्यो अनलाईनले राम्रो लेखिदिन्छ। यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाईनलाई समीक्षा त लेख्छ लेख्छ। फिल्म नै पूरा नहेरी लेख्छ,’ उनी भन्छन्।
पाठक आफैंले समीक्षा विश्वसनीय छ कि छैन भनेर छनोट गर्नुपर्ने अवस्था आएको अनुप सुनाउँछन्। मिडिया हाउसले समीक्षामा लगानी नगर्नुले नै यी समस्या आउने अनुप बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।