काठमाडौं– मंसिर ४ गते भएको निर्वाचनको परिणाम कुनै दलको बहुमत आएन। सत्ता गठबन्धनको नेतृत्वमा रहेको नेपाली कांग्रेस पहिलो दल बन्दै उसले ८९ सिट प्राप्त गर्यो। प्रत्यक्षतर्फ ५७ सिट जितेको नेपाली कांग्रेस ३२ सिट समानुपातिकमा प्राप्त गर्दै पहिलो दल बनेको थियो।
नेकपा एमाले ७८ सिट प्राप्त गर्दै दोस्रो र माओवादी केन्द्र ३२ सिट प्राप्त गर्दै तेस्रो दल बन्यो। सत्ता गठबन्धनभित्र रहेका दलहरु मात्रै मिलेर सहज सरकार गठनका लागि केही सिट नपुग्ने भयो।
त्यसका लागि सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई सहभागी गराउने खेल सुरु गरिएको थियो। निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई वुझाएपछि उनले सरकार गठनका लागि आब्हान गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले पुस ३ गते ७ दिनको समय दिँदै संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठनको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समयको अन्तिम दिन आइतबार सरकार गठनको रस्साकस्सी चलिरहेको थियो।
शनिबार साँझ अबेरसम्म बालुवाटारमा शक्ति बाँडफाँडको छलफल चलेको थियो। उक्त बैठकमा कुनै सहमति हुन सकेन। पुन: बस्ने सहमतिसहित उठेका नेताहरु आइतबार विहानै नयाँ समीकरणको छलफलमा केन्द्रति भए।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। उक्त भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ‘अन्तिम’ कुराकानी गर्न बालुवाटार पुगे।
उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान–टु–वान’ वार्ता गरे। उनले साक्षीमा रुपमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बोलाए। नेपाल सहितको त्रिपक्षीय छलफलमा दाहालले प्रधानमन्त्री वा राष्ट्रपति दिन माग गरे। तर प्रधानमन्त्री देउवाले दुवै दिन नसकिने भनेपछि दाहाल उठेर हिँडे। उनले त्यसअघि नै बालकोटमा छलफलका लागि नेताहरु देव गुरुङ र नारायणकाजी श्रेष्ठलाई पठाएका थिए।
सत्ता गठवन्धनसँग मिलेर निर्वाचन लडेका दाहाल अन्तत: त्यसलाई छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। प्रचण्ड वालकोट पुग्नु अघि नै ओलीले नयाँ सरकार गठनको प्रक्रियामा छलफल सुरु गरिसकेका थिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र सीके राउतलाई बालकोट बोलाएका थिए। एमाले अध्यक्ष ओलीको फोनपछि राप्रपाले आकस्मिक बैठक पनि बोलाएर छलफलमा जुटेको थियो।
दाहाल पुगेपछि ओलीले पहिलो प्रधानमन्त्रीको रुपमा उनलाई पहिलो चरणमा बनाउने सहमति गरे। एमाले राष्ट्रपति र सभामुख लिने सहमति भयो। यो सहमतीसँगै एकाएक सत्ता गठबन्धन तितरबितर भयो।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी १६६ सांसदको समर्थनसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्।
बालकोटमा सहमति जुटेपछि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि प्रचण्डको दाबेदारी पेस भइसकेको छ। राष्ट्रपतिले प्रचण्डलाई आज (आइतबार) नै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन्।
एमाले, माओवादी, राप्रपा र जसपा लगायतका दल मिल्दा सातै प्रदेशमा सरकार बन्ने छ। बालकोटको अन्तिम समयको सक्रियताले शनिबारसम्म सातै प्रदेशमा सरकार बनाउने तरखरमा रहेको कांग्रेस प्रतिपक्षमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।