देव गुरुङ (फाइल तस्बिर)
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर साढे ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुग्ने तयारी गरिएको छ।
बालकोटमा बसेको बैठकमा सहमति जुटेको बताउँदै माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति कार्यालय शितल निवास जाने तयारीमा लागेको जानकारी दिए।
नेपाल लाइभलाई संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङले भने, ‘सहमति जुटेको छ। हामी शीतलनिवास जाँदैछौं।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी नछाडेपछि प्रचण्ड बालकोट पुगेका थिए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गर्ने तयारी गरिएको छ। नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन दिने जनाएको छ।
राष्ट्रपति भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समयसीमा आज (आइतबार) अपराह्न ५ बजे सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।