काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउत पनि केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। आइतबार दिउँसोदेखि बालकोटमा जारी छलफलमा जोडिन उनी पनि बालकोट पुगेका हुन्।
बालकोट प्रवेश गर्ने क्रममा राउतले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएर आएको बताए। 'मिटिङ छ भनेर बोलाउनुभएको छ। म कुरा बुझ्न आएको हुँ', उनले भने।

राउतले आफूहरुको सत्ता सहयात्राको विषयमा खुलाउन चाहेनन्। आफूहरुसँग प्रतिनिधि सभामा धेरै सांसद नभएको उल्लेख गरे।
बालकोटमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल चलिरहेको छ। जसपाका नेता अशोक राई पनि छलफलमा जोडिएर केही बेरअघि बाहिरिएका थिए।
आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छलफलमा बसेका थिए। तर सहमति जुट्न सकेको थिएन।

प्रचण्डले बालुवाटारको छलफलमा 'थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु' भनेर निस्किएका थिए। त्यसपछि बालकोटमा नयाँ समीकरणको प्रयत्न सुरु भएको हो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आन्तरिक छलफलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।