काठमाडौं– सत्ता गठबन्धन ब्रेक लागेको छ। २०७८ जेठमा बनेको सत्ता गठबन्धन नयाँ सरकार गठन प्रक्रियामा टुटेको हो। पदीय भागबण्डा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमै गठबन्धन बिसाएको घोषणा गर्दै बालकोट पुगेका छन्।
अध्यक्ष प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्।
आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच भएको छलफलमा सहमति जुट्न सकेको थिएन। छलफल निष्कर्षमा नपुगेपछि प्रचण्डले ‘थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु’ भनेर निस्किएको कांग्रेसका एक नेताले बताए।
गठबन्धन कायम राख्नुपर्नेमा शीर्ष नेताहरुको मतैक्य भए पनि गठबन्धनबाट पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुट्न सकस परेको हो। देउवा र प्रचण्ड दुवै आफूले पहिले सरकारको नेतृत्व गर्न चाहेका थिए। कांग्रेसले राष्ट्रपति पनि आफैंले पाउनुपर्ने अडान राखेको छ।
सत्ता गठबन्धनको संयोजन गरिरहेका कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन ‘ब्रेक’ भएको पुष्टि गरेका छन्। प्रचण्डले गठबन्धन नरहेको जानकारी गराउँदै बाहिरिएको पनि पौडेलले उल्लेख गरे।
विगत २ वर्षदेखि कायम रहेको ५ दलीय गठबन्धन अब नरहेको पौडेलको भनाइ छ। आज (आइतबार) बालुवाटारमा प्रचण्डले आफूलाई कांग्रेसले धोका दिएको पनि बताएको नेता पौडेलले नेपाल लाइभलाई बताए।
विगत केही दिनयता कांग्रेस नेता पौडेल गठबन्धन जोगाउन दौडधुप गरिरहेको थिए। उनले भने, ‘गठबन्धन देशको आवश्यकता हो, तर जोगाउने कुरामा हाम्रो हातमा रहेन।’
त्यसअघि माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनमा गडबड सुरु भएको बताएका थिए। नेपाल लाइभसँग उनले भने, ‘सत्ता गठबन्धनमा गडबड सुरु भयो।’ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सत्ता गठबन्धनको बैठकअघि शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष तहमै कुरा नमिलेपछि सत्ता गठबन्धनको बैठक नै बस्न सकेन।
सत्ता गठबन्धन तोडेर आएका प्रचण्डसहित एमालेको नेतृत्वमा बालकोटमा बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक सुरु भएको छ।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि नयाँ गठबन्धनको प्रयास थालिएको छ। नयाँ गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी समावेश हुने सम्भावना छ।
नयाँ समीकरण बनाउने बैठकमा एमालेबाट ओलीसँगै एमालेबाट महासचिव शंकर पोखरेल, विष्णु रिमाल, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष रवि लामिछाने, मुकुल ढकाललगायतका नेताहरु सहभागी छन्।
बालकोटमा रहेका दलहरुबीच सहमति जुटेर सरकार बन्ने अवस्था आए १५५ सांसद पुग्ने देखिन्छ। एमालेका ७७ सांसद, नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४ र जसपाका १२ सांसदसहित कूल १५५ सांसद रहेका छन्। सरकार गठनका लागि १३८ सांसदको संख्या आवश्यक रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।