बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका- ४, फ्याउलेकी माया लुहार हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालतले कोलीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पुस ५ गते मुद्दा बुझाएको र कोलीलाई पुस ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।
२१ वर्षीया लुहारको सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीले मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए । शिवनाथ ४ सोलपाला घर भएका कोलीले मृतक लुहारकी भदै १५ बर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए ।
घटना लगत्तै फरार रहेका कोलीलाई मंसिर १८गते महेन्द्रनगरबाट पक्राउ गरिएको थियो। उनले माया लुहारको हत्या गरेको स्वीकार गरेका थिए। उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो।
अभियुक्त कोलीले माया लुहारसँग प्रेम रहेको र उनले अरुसँग पनि प्रेम गरेको भन्दै हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।