काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाल प्रचण्डले समयमा कदम नचालेका कारण सम्भावना समाप्त हुन लागेको बताएका छन्। प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा दर्शाए पनि समयमा कदम नचाल्दा सम्भावना सकिनेतिर गएको उनको टिप्पणी छ।
शनिबार काठमाडौंमा आयोजित एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा ओलीले संस्कृत श्लोक उल्लेख गर्दै समयमा कुनै काम गरिएन भने समयले त्यसको उपलब्धि समाप्त पारिदिने दष्टान्त दिए।
उनले त्यसलाई नेपालीकरण गर्दै भने, ’लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ। भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ। समयले नै त्यसको फल खाइदिन्छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उनले उपलब्धिलाई आँपसँग तुलना गर्दै पाकेकै बेला टिप्न नसक्दा खान र बेच्न दुवै नपाइने र आफैं झरेर जाने बताए।
‘त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ। त्यस्तै हो, अब उहाँ (प्रचण्ड)को सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नुभएन,’ उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।