काठमाडौं– नेपाली कांग्रेसका महिला सांसदहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाब दिएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर महिला सांसदहरुले जनता सामु जाँदा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भन्दै मत मागेकाले कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बनाउन सुझाएका हुन्।
जनताले मुलुकको ठूलो दलको रुपमा कांग्रेसलाई जिताएकाले तत्काल कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने आफूहरूले दिएको महिला सांसदहरूको भनाइ छ।
‘अबको गठबन्धन १० वर्षसम्म जान्छ। यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि हो। हामी महिला सांसदहरुले शनिबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर प्रजातान्त्रिक पार्टीले देशको नेतृत्व गरेर स्थायित्व सुशासन दिन्छ भनेर हामीले मत मागेका थियौँ, सबै गठबन्धनका नेताहरुले त्यसलाई पालना गर्नुहोस् भन्ने आग्रह गरेका छौँ,’ देउवासँगको भेटपछि सांसद रमा पौडेलले भनिन्, ‘भोलिको भागबण्डा भन्दा पनि तत्कालको नेतृत्व कांग्रेसले गर्नुपर्छ भनेर सभापतिलाई भनेका छौँ।’
कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवाले पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको सांसद पौडेलले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।