काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनभित्र कसरत तीव्र बनाएका छन्।
यसैबीच, उनले शुक्रबार नयाँ सरकार गठनबारे छलफल गर्ने उद्देश्यले माओवादी केन्द्रकान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।
कांग्रेस सभापति तथा संसदीय दलको नेतासमेत रहेका देउवाले अध्यक्ष ठाकुरसहित लोसपा नेता सवेन्द्रनाथ शुक्लालाई शुक्रबार बालुवाटार बोलाएर भेटेका थिए।
लोसपा अध्यक्ष ठाकुरले देउवालाई संसदीय दलको नेता चयन भएकोमा बधाई दिएकोबालुवाटारनिकट स्रोतले जनाएको छ।
साथै, वर्तमान सता गठबन्धन नटुट्ने गरी नयाँ सरकार गठन गर्ने र त्यसमा लोसपाको साथ रहने पनि ठाकुरले आश्वासन दिएका छन्।
लोसपा अध्यक्ष ठाकुरसँगको भेटलगत्तै प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग पनि शुक्रबार नै भेटेका थिए। यद्यपि, प्रधानमन्त्री देउवा र प्रचण्डबीच के कुरा भयो त्यो सार्वजनिक भएको छैन।
बिहीबार भएको देउवा, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटमा शक्ति बाँडफाँड गर्न प्रचण्डले आग्रह गरेका थिए। प्रचण्ड देउवामाथि माओवादीलाई प्रधानमन्त्री दिन दबाब दिँदै आएका छन्। कांग्रेस नेता प्रकाशमान सिंह र माओवादी नेता जनार्दन शर्माले पनि शुक्रबार नै देउवा र प्रचण्ड सरकार गठनबारे छलफल गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारगठनका लागि आइतबारसम्मको समयसीमा तोकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।