काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामान्य टाउको दुख्दा उपचारका लागि विदेश जाने प्रवृतिको विकास भएको बताएका छन्।
शुक्रबार पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलको सेसनमा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला देश भित्र नै मृगौला प्रत्यारोपण गर्न सफल भएको बताए। उनले आफूले यहाँका डाक्टर, नर्स, स्वास्थ्यकर्मीलाई विश्वास गरेका कारण सफल भएको दाबी गरे।
उनले भने,‘म त्यति बेला प्रधानमन्त्री थिएँ। सरकारले मेरो उपचार खर्च बेहोर्थ्यो। तर बाहिर जाँदा ५० लाख त साधारणतया खर्च हुने हुन्थ्यो। नेपालमै त्यो परिश्रम गरेर त्यो सुविधा प्राप्त गरेका छौं,’ उनले भने, ‘नेपालमै त्यो क्षमता डाक्टरहरुले राख्नुहुन्छ।’
ओलीले नेपालमा विदेशमा प्राप्त हुने ज्ञान र सीप र उपकरणको व्यवस्था भएको दाबी गरे। उनले पद ओहदाको कारणले महँगो पैसा तिर्न बाहिर जान नपर्ने बताए।
ओलीले भने, ‘पद र ओहदाको कारणले महङ्गो पैसा तिर्न बाहिर जान पर्दैन। त्यही चीज हामी यहाँ गर्न सक्छौं। त्यसकारण टाउको दुख्यो कि विदेश कुद्ने फेसनको रुपमा त्यो गर्नुपर्दैन।’ सक्नेले बाहिर गएर उपचार गराउने र नसक्नेले यहिँ उपचार गर्ने कुरा सामान्य ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।