काठमाडौं– सरकारले कोरोना भाइरसको जोखिम फरक स्वरूपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। केही देशमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका हेल्थ डेस्कहरु तथा स्वास्थ संस्थाहरूलाइ आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ।
‘विश्वव्यापी रूपमा हेर्दा केही देशमा संक्रमणका नयाँ स्वरूपमा जोखिम बढिरहेका छन्। विशेषतः हाम्रै छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ,’ मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’नयाँ भेरियन्ट फैलिँदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको छ।
मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन्।
तर पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको बि.एफ. ७ भने हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ। साथै सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्क तथा स्वास्थ संस्थाहरूले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।