काठमाडौं– मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरु बिहीबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सांसदहरुलाई जेष्ठ सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन्। यसै सन्दर्भमा नेपाली कांग्रेसबाट समानुपातिकको खस–आर्य कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जुम्लाकी कान्तिका सेजुवाल खस भाषामा शपथ लिँदैछिन्।
उनी खस भाषामा शपथ लिन लागेकी एक मात्र सांसद हुन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा बोलिने खस भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्धेश्यले खस भाषामा शपथ लिन लागेको सेजुवालले बताएकी छन्।
कान्तिकाका छोरा समेत रहेका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता सुरज सेजुवालले आफ्नी आमा खसआर्य कोटाबाट समानुपाति सांसद चुनिएका कारण खस भाषामै शपथ लिने नेपाल लाइभलाई जानकारी दिए।
उनले भने, ‘सुदूर तथा कर्णाली प्रदेशमा बोलिने खस भाषाको अनुसन्धान, संरक्षण र सम्वर्द्धन हुन सकेको छैन। अहिले बोलिने नेपाली भाषा पनि खस भाषाबाटै आएको हो। त्यसका लागि खोज, अनुसन्धान र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांकेतिक रुपमा खस भाषा र खस पहिरनमै शपथ लिनुहुन्छ,’ सुरजले भने।
कान्तिकाले प्रतिनिधि सभा सदस्यको शपथ लिँदा खस पहिरन पनि लगाउने सुरजले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।