काठमाडौं– प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले नेपाली बाहेक १४ भाषामा सपथ लिने भएका छन्। २७ जना सांसदले कामकाजी नेपाली भाषा बाहेक मातृभाषामा शपथ लिन नाम टिपाएको संसद् सचिवालयले जाननकाएको छ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार नेपाली खस (कर्णाली र सुदूरपश्चिममा प्रचलित)देखि संस्कृत भाषासम्ममा शपथ लिन सांसदहरुले नाम टिपाएका हुन्। उनका अनुसार उर्दू, भोजपुरी, थारु, कोहीउ, मैथली, नेपाली खस, मधेसी, सन्याली, नेपाल भाषा, अवधि, मुस्लिम, हिन्दी र संस्कृत भाषामा सांसदहरुले सपथ लिने भएका हुन्।
जुम्लाकी कान्तिका सेजुलवालले नेपाली खस भाषामा सपथ लिँदैछन्। आफू खशआर्य कोटाबाटै सांसद् बनेको र मातृभाषा पनि खस भएकाले उक्त भाषामा सपथ लिन लागेको उनले बताएकी छिन्। आफू जुम्लाकै महिलाले लगाउने पहिरनमा संसद्मा जाने उनको भनाइ छ।
यसैगरी संस्कृत भाषामा शपथ लिन लागेका किरणकुमार साहले पहिलेदेखि नै नेपाल हिन्दू सनातन धर्मअनुसार चल्दै आएको बताउँदै संस्कृत भाषा जोगाउन यस्तो निर्णय लिएको बताएका छन्। उनले भने, ‘विश्वमा पनि नेपाल एउटा हिन्दू राष्ट्र भनेर चिनिने गरेको थियो। अहिले भने संस्कृत भाषाको बिदाइ नै गर्न लागेका छन्। तर यो भाषा धेरै भाषाको जननी हो। त्यसैले यो भाषाले राष्ट्रिय एकतालाई जोड्ने र मजबुत बनाउन सक्छ। त्यसैले यो भाषा लोप नहोस्, बरु उजागर होस् भनेर मैले संस्कृत भाषामा सपथ लिने निर्णय गरेको हो।’
प्रतिनिधि सभाका सांसदहरुले बिहीबार दिउँसो १ बजे शपथ लिँदैछन्। ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ खुवाउने भएका छन्।
प्रतिनिधि सभामा सांसदहरु विभिन्न भेषभूसामा देखिनेछन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै सांसदहरुलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन भनेका छन्। प्रतिनिधि सभामा १२ राजनीतिक दलबाट २७० र ५ स्वतन्त्र सांसद छन्। कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, जसपाबाट १२, राप्रपाबाट १४, एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, नागरिक उन्मुक्ति पार्टीबाट ३, लोसपाबाट ४, नेपाल मजदुर किसान पार्टी र जनमोर्चाबाट १–१ सांसद निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।