काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट देखिएको छ। बुधबार सेयर बजार मापन नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ बिन्दुमा ओर्लिएको छ। साताका तेस्रो कारोबार दिन मंगलबार भने सेयर बजार १४.२२ अंकले उकालो लागेर १८७३.११ बिन्दुमा पुगेको छ।
बुधबार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स १.३१ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४० अंक घटेको छ।
नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९३ करोडभन्दा बढीको सेयर कारोबार भएको बजारमा यसदिन २५२ स्टकको २० हजार ४३३ पटकको कारोबारमा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको २४ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यसदिन एनआईसी एसिया शीर्ष स्थानमा रहेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको यस बैंकको यस दिन ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यसदिन नबिल बैंकको करिब ४ करोडको सेयर किनबेच भएको छ।
बुधबार १३ उपसमूहमध्ये बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यसदिन बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यसदिन १ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार आँधीखोला लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आँधीखोला लघुवित्तको सेयरमूल्य यस दिन १५० रुपैयाँ ७० पैसा बढेर १ हजार ६५७ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने सिर्जनशील लघुवित्तको सेयरमूल्य ९९ रुपैयाँ ६० पैसा बढेर १ हजार ९६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
यसैगरी, आज इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ६.२८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।