बैतडी– बैतडीका शिक्षक धनबहादुर विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै आएको संघर्ष समितिले पाटन नगरपालिकामा तालाबन्दी गरेको छ। शिक्षक विष्ट मृत फेला परेको ५ दिन बितिसक्दासमेत सत्यतथ्य पत्ता नलागेको भन्दै नगरपालिकामा संघर्ष समितिले तालाबन्दी गरेको हो।
घटनाको सत्यतथ्य छानबिनका लागि स्थानीय सरकारलाई दबाब दिन नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक लिला विष्टले बताइन्। उनले भनिन्, ‘स्थानीय सरकार घटनाप्रति जवाफदेही भएको छैन। त्यसैले सरकारलाई दबाब दिन हामीले तालाबन्दी गरेका हौं।’
संघर्ष समितिले मंगलबार आन्दोलनका कार्यक्रम घोषणा गरे अनुरुप आज बिहानैदेखि दशरथचन्द राजमार्गसमेत अवरुद्ध गरिएको छ। यस्तै नगर क्षेत्रभित्रका विद्यालय र बजारसमेत बन्द रहेका छन्।
यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक विष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन्। पुस १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए।
सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका शिक्षक विष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए। आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन्।
प्रहरीले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जनाएको छ। मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।