काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पारेका छन्।
बुधबार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताएका हुन्।
उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्ना कामहरू धेरै भएको बताए। शर्माले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको उल्लेख गरे।
महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए।
‘मेरो काँधमा कतिवटा कामहरू गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरूले मलाई पर्खिरहेको बेला छ। अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ?’, शर्माले भने, ‘अहिले सरकारमा जाने कुरामा साथीहरू जानुहुन्छ। सरकारमा जाने साथीहरूलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो। तर, अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ। त्यसकारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन।’
महामन्त्री शर्माले सरकारमा जाने सांसदहरूको संयोजन लगायतका कामहरू अघि बढाउने काममा आफू लाग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।