काठमाडौं– शहरी विकासमन्त्री मेटमणी चौधरीले बञ्चरेडाँडाका जनतामाथि कुनै पनि प्रकारको अन्याय नहुने आश्वासन दिएका छन्।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीयसँग संवादका क्रममा भने, ‘यत्रो फोहोर जम्मा भइराछ। गन्ध निस्कन्छ। तपाईंहरुकै कारण काठमाडौं सफा भएको छ। त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुनेछन्। अधिकांश माग पूरा हुने चरणमा पनि छन्।’
स्थानीयले पहुँच भएकाहरुले बञ्चरेडाँडाबाट लाभ लिइरहेको भन्दै गरिब र सोझा जनता वास्तवमै मारमा परेको बताएका थिए। त्यसको जवाफमा मन्त्री चौधरीले भने, ‘‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन्। त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस्। तपाईंहरुमाथि सरकारले अन्याय हुन दिन्न।’
शहरी विकास तथा भवन निर्माण विभाग, बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बञ्चरेडाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए।
‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्यांक, लिथेट ट्यांक, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्धार लगायतका निर्माण कार्य थिए। हामीले पहिलो चरणलाई सेल–१ र सेल–२ गरि दुई भागमा विभाजन गरेका थियौं। सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ। सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ’, उनले भने, ‘त्यसैगरी दोस्रो चरण अन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरी शतप्रतिशत काम सम्पन्न भइसकेको छ।’
तिनपिप्लेदेखि बञ्चरेडाँडा जाने मुख्य ढुवानी मार्गको मर्मत कार्य अन्तिम चरणमा रहेको र यसका साथै शहरी विकास मन्त्रालयले फोहोर मैला ढुवानीका लागि छुट्टै र छोटो दूरीको वैकल्पिक मार्गको डिपिआर सम्पन्न गरी ठेक्का दिन लागेको पनि इन्जिनियर कटुवालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।